महिलाहरुको महान पर्व तीज, निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्दै


१४ भाद्र २०७९, मंगलवार १३:१३ मा प्रकाशित

काठमाडौँ ।   नेपाली महिलाहरुको महान पर्व तीज, सोमबार दर खाएर बसेका महिलाहरु मंगलबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्दैछन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ । विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा मंगलबार दर्शनार्थीहरुको भीड लागेको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको हो । पशुपतिनाथको बाहिरी मूलढोका भक्तजनका लागि २०६५ सालपछि यो वर्ष तीजमा पहिलोपटक खुला गरिएको छ । पशुपतिनाथको पुजारी प्रकरणपछि यो ढोका भक्तजनका लागि खुला गरिएको थिएन ।

पर्वका अवसरमा पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा बर्तालु महिलाको भीड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here