काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहसहित चुनावमा उठ्न चाहिरहेका केही व्यक्तिहरूको नाम नै लिएर आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ ।
उहाँले ‘ती व्यक्तिहरूलाई पहिला मुखले सम्झाउनुहोस् नत्र हात खुट्टा के के प्रयोग गर्नुपर्छ गर्नुहोस्’ भन्दै आपत्तिजनक अभिव्यक्ति दिनुभएको हो ।
सोमबार पार्टीले भक्तपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बस्नेतले बालेन शाह, रविन्द्र मिश्र, रवि लामिछाने, रमेश खरेलका नाममा विभिन्न खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित भएको बताउँदै आवश्यक परे आक्रमणमै उत्रिन कार्यकर्तालाई निर्देशन दिनुभएको हो।
‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गाली गर्नुस, तपाईहरुले। त्यो गरे वापत केही भयो भने हामी तपाईहरुको संरक्षण गर्छौ’, उनले भने, ‘सकभर मुखले सम्झाउनुहोस, मुखले सम्झाउँदा मानेनन् भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘





