झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयबाट संसदमा फिर्ता आएको नागरिकता विधेयकबारे संसदमै छलफल नगरि जस्ताको त्यस्तै फिर्ता गर्ने सरकारको कसरत अलोकतान्त्रिक भएको बताउनुभएको छ ।
विभिन्न कार्यक्रमहरूमा सहभागी हुन गृहजिल्ला झापा आउने क्रममा बिहीबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकमा सरकारले कुनै चासो नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले अहिलेको सरकारलाई देशप्रति कुनै चिन्ता नभएकाले नागरिकता विधेयकमाथि सरकारले संसदमा कुनै छलफल नगराएको बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले राष्ट्रपति कार्यालयबाट फिर्ता आएको विधेयकमाथि संसदमा पुनः छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारले जे गरिरहेको छ, त्यो गतिविधि लोकतन्त्रमा सोच्नै नसकिने उहाँको भनाइ थियो ।
२०७४ सालको निर्वाचन जस्तै झापामा यसपटक राप्रपासंग चुनावी तालमेलबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा एमाले कोहीसंग पनि गठबन्धन बनाउने पक्षमा नरहेको ओलीले बताउनुभयो ।
तर स्थानीयस्तरमा आवश्यकताका आधारमा तालमेलको संभावना भने रहने उहाँले बताउनुभयो । उहाँले अहिलेसम्म कुनै पनि दलसंग चुनावी तालमेलबारे छलफल नभएको बताउनुभयो ।
केही दिन अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओली निवास बालकोट पुगेर चुनावी तालमेलबारे छलफल भएको समाचार बाहिरिएको थियो ।
तर उक्त भेटमा लिङ्देनसंग तालमेलबारे कुनै कुरा नभएको ओलीले बताउनुभएको छ ।





