काठमाण्डाै । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई साेमबार अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ ।
जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘बर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि त्याे भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो ।
डेढ महिनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको भूउपग्रहले आजबाट पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र रुपमा परिक्रमा गर्ने भएको हो ।
नानाे भूउपग्रहले पहिलो चरणमा भुटान अनि नेपाललाई जानकारी दिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का अन्तरिक्ष यान प्रविधि (एरोस्पेस) इञ्जिनियर मिलनकुमार न्यौपानेले जानकारी दिनुभयो । ‘पृथ्वीको ४०० किलोमिटर माथि आइएसएसमा पाँच जना अन्तरिक्ष यात्री बसी भूउपग्रह आज आकाशमा छाडिएकाे हाे’, न्यौपानेले भन्नुभयो, ‘अमेरिकाका दुई, रसियाका दुई र क्यानडाका एक जना व्यक्तिलाई आइएसएसमा त्यस कामका लागि खटाइएको थियो ।’
त्यस भूउपग्रहको तौल एक किलो ३०० ग्राम, यसको आकार एक हजार घनत्वको रहनाका साथै यसमा छ वटा ब्याट्री जडित भएकाले सूर्यबाट चल्ने र फालेको परिधिभन्दा बाहिर भूउपग्रह गएमा बढी जोखिममा पर्ने सम्भावना हुने बताइएको छ ।
भूउपग्रहमा पाँच मेगा पिक्सलकाे क्यामेरा जडान गरिएको छ । यसबाट सङ्कलन गरेको फोटो व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका इञ्जिनियर रोशन पाण्डेले जानकारी दिनुभयो ।





