डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन जना पत्रकार पुरस्कृत


१ भाद्र २०७९, बुधबार १४:२५ मा प्रकाशित

झापा । दिवंगत साहित्यकार तथा पत्रकार डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन जना पत्रकारलाई बुधबार प्रदान गरिएको छ ।

कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार झापाका पत्रकारहरू जीएन शर्मा, राजु पाठक र लीलाराज झापालीलाई प्रदान गरिएको हो ।

बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा झापा क्षेत्र १ का प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले उक्त पुरस्कार प्रदान गर्नुभयो ।

प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी  र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामा रहेको समितिले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सह सचिव पाठक र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ रहेको छ । साहित्यकार तथा पत्रकार डी. कौडिन्यलाई तत्कालीन शाही सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी चारआलीस्थित व्यारेकमा पुर्याएर हत्या गरेको थियो ।

पुरस्कृत पत्रकारहरूका तर्फबाट बोल्दै पत्रकार जीएन शर्माले डी. कौडिन्यहरूले देखेको सपना र राज्य व्यवस्था यही थियो ? भन्दै माओवादी केन्द्रका नेताहरूमाथि प्रश्न गर्नुभयो ।

जनपक्षीय पत्रकार देव कुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित यो पुरस्कारबाट यस अघि चन्द्र भण्डारी, लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here