काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले नागरिकता विधेयक संघीय संसद्बाट जस्ताको त्यस्तै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको छ ।
उक्त विधेयक हुबहु पास गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय सत्ता गठबन्धनले गरेको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर राजनीतिक कदम उठाएको निष्कर्ष निकाल्दै संशोधनबिनै फेरि संघीय संसद्बाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने समझदारी गरेका हुन्।
बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयकलाई संसद्को प्रक्रियामा अघि बढाउने सहमति शीर्ष नेताहरूबीच भएको जानकारी दिनुभयो।
संघीय संसद्ले पास गरेको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित आइतबार प्रतिनिधिसभामै फिर्ता पठाउनु भएको थियो ।
त्यसप्रति असन्तुष्ट गठबन्धनका शीर्ष नेताहरूले यसअघि पारित विधेयकमा राष्ट्रपतिले उठाएका प्रश्न र सवाललाई सम्बोधन नगर्ने निष्कर्ष निकालेका छन्।





