भरत प्रसाई । साउन महिनाको अन्तिम सोमबार ३० गते देवी पञ्चकन्या टोल बिकास संस्था बितामोड १ को आयोजनामा शिव आराधना जलार्पण तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।
कैलाशेश्वर महादेवको प्रतिमा स्थल पञ्चकन्यास्थित खुल्ला प्राङगणमा आयोजित कार्यक्रममा मोरिक साधना केन्द्र र सुनसरीका कलाकार अमृत नेपालले शिव ताण्डव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धर्म र समाजको बिकासमा निरन्तर साधनारत जेष्ठ नागरीक ९५ बर्षीय विरबहादुर चौहान, देवी पञ्चकन्या किर्तन मण्डलीका पूर्व अध्यक्ष देवीप्रसाद प्रसाईलगायतलाई सम्मान गरिएको थियो ।
बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई, उपमेयर नगेन्द्र प्रसाद संग्रौला लगायतले संयुक्त रुपमा प्रमाण पत्र तथा दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । द भ्वाईस अफ नेपालकी फस्ट रनरअप अनुजा कडरीयाले भजन प्रस्तुत गर्नुभएको कार्यक्रम पञ्चकन्या टोल बिकास संस्थाले आयोजना गरेको थियो ।

कार्यक्रममा बिर्तामोडका १ देखी १० सम्मका वडाका अध्यक्षहरु, सागंवेद मा.वि.का प्रधानाध्यापक छन्दुराम भण्डारी, नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय सदस्य ओमकृष्ण विमली, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, राप्रपा बिर्तामोड नगर सभापती रन्जु प्याकुरेल, जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख अशोककुमार जवेगु, बिर्तामोड उद्योग बाणिज्य महासघंका महासचिव अर्जुनकुमार मैनाली लगायतको उपस्थिति रहेको थियो । पूर्वकै अग्लो कैलाशेश्वर महादेवको प्रतिमा आफ्नो नगरमा स्थापित हुनु नगरवासीको लागि खुसीको कुरा रहेको विर्तामोड १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताउनु भयो ।

मूल सडकबाट प्रतिमा स्थलसम्म आइपुग्ने बाटोलाई मर्मत गर्न वडासंग छलफल भइरहेको प्रसाईले बताउनु भयो । यस्तै, पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जलेश्वर धाममा शिव आराधना तथा जलार्पण गर्न उल्लेख्य भक्तजनको उपस्थिति देखिएको थियो ।
विहान ४ बजेबाट लाइनमा बसेर शिवलाई जलार्पण गर्ने भक्तजनलाई सहजरुपमा पूजा गर्ने ब्यवस्था मिलाइएको अर्जुनधारा धाम सेवा समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनु भयो । अर्जुनधारामा झापा मोरङलगायत भारतबाट पनि भक्तजनहरु आउने गरेका छन् ।





