झापा । बंगलादेशसँग बराबरी खेलेको नेपालको साफ यु २० च्याम्पियनसिप पुरुष फुटबलको यात्रा टुंगिएको छ ।
माल्दिभ्ससंग खेलेको भारतले १-० को अग्रता निकालेपछि अंक तालिका अनुसार नेपालको फाइनल खेल खेल्ने सपना टुंगिएको हो ।
भारतको कलिङ्ग रंगशालामा मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशसँग अंक बाँडेको थियो।
चार खेलमा १० अंकसहित बंगलादेश शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्दा समान खेलमा ९ अंक जोडेको भारत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गर्यो।
नेपाल ७ अंकका साथ तेस्रो हुँदा चौथो स्थानको माल्दिभ्स र पाँचौं स्थानको श्रीलंकाको समान १ अंक रह्यो।
पहिलो खेलमा माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेसँगै शीर्ष दुईको दाबेदारी प्रस्तुत गरेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरमा पराजित भयो। सोही हारका कारण नेपालले शीर्ष दुईको सम्भावना कायम राख्दै फाइनलमा स्थान बनाउन बंगलादेशमाथि ५–० को अन्तरमा जित अथवा दोस्रो खेलमा माल्दिभ्सले भारतलाई हराएको वा अंक बाँडेको कामना गर्नुपर्ने थियो।
तर नतिजा नेपालले चाहेअनुसारको भने आएन। बंगलादेशसँग अंक बाँड्दै केही समय दोस्रो स्थानमा उक्लिएको नेपाल माल्दिभ्सले भारतलाई नतिजा सुम्पिएसँगै बाहिरिएको हो।





