काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मधेशी समुदायको स्पष्टता कायम गर्न मधेशी आयोगलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले निश्चित आधारमा तय गरिने कुनै जात वा समुदाय मधेशी हुन भन्ने अवधारणामा स्पष्टता नआएसम्म आयोगको कार्यक्षेत्रको दायरा निक्र्यौल हुन नसक्ने र कार्यसम्पादनमा समेत अन्यौलता आउने देखिएको भन्दै मधेशी समुदायको स्पष्टता कायम गर्न मधेशी आयोगलाई निर्देशन दिएको हो ।
बैठकले संघीय एवं प्रदेश सरकारले कार्यान्वयन गर्ने मधेश सम्वद्ध कार्यक्रमहरु समेत समन्वयमा हुन नसकेको देखिएको भन्दै सिफारिस भएका नीतिहरु, कार्यक्रमहरुको प्रभावकारीताको मूल्याङ्कन गर्न, प्रदेश एवं स्थानीय तहसंग समन्वय गरि कार्यक्रमहरु दोहरिन नदिने गरि कार्यसम्पादन गर्न पनि मधेशी आयोगलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाती लगाएतका समूहमा हुने कार्यक्रमहरुमा दोहोरोपना हुने गरेकोले सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नदोहरिने किसिमले कार्यक्रम गर्न मधेशी आयोग लगाएत अन्य आयोगहरुलाई निर्देशन दिएको सभापति पालले जनकारी दिनुभयो ।
त्यस्तै बैठकले मधेशी समूदायभित्रको उत्पीडन, दाईजो बोक्सी प्रथा जस्तै कुसंस्कारलाई नियन्त्रण गर्न आयोगको महत्वपूर्ण योगदान रहने भन्दै यसका लािग स्थानीय तहसंग प्रभावकारी समन्वय गरि निरोधात्मक प्रकृतिका कार्यलाई प्राथमिकता दिन पनि मधेशी आयोगलाई निर्देशन दिएको छ ।





