नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन आउँदो चुनावसम्म जाने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहीवार बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताउनुभएको थियो ।
उहाँले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताउनुभएको थियो ।
विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मालोचना नगरेका कारण नेकपा एमालेसँग गठबन्धन हुने च्याप्टर क्लोजु भएको अध्यक्ष दाहालको भनाइ छ ।
बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
बैठक पुनः शुक्रवार बिहान बस्ने गरी स्थगन भएको माओवादी श्रोतले जनाएको छ ।





