झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका पार्टीलाई चुनावबाट कुनै पनि हालतमा पराजित गर्नुपर्ने बताउनु भएको छ ।
बुधबार झापाको बिर्तामोडमा नेकपा एमालेको बर्गीय संगठन नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी थाल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। उहाँले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको आरोप लगाउनु भयो । सत्ता गठबन्धनका पार्टीलाई जनता सजग भएर एकमुष्ठ पराजित गर्नुपर्ने ओलीले बताउनु भयो।
सत्ता गठबन्धनका पार्टीहरूले लोकतान्त्रिक मूल्य/मान्यताविपरितका काम गरिरहेको ओलीले आरोप लगाउनु भयो । देशमा अनेकौं समस्या रहिरहेका बेला त्यो भन्दा अझै ठूलो समस्याका रुपमा सत्ता गठबन्धनका पार्टीहरूका क्रियाकलाप रहेको उहाँको भनाइ थियो। सत्ता गठबन्धन देशलाई पछाडि धकेल्नका लागि बनेको उहाँको दाबी थियो।
स्थानीय तहको निर्वाचनमा पार्टीका केही पुरुष कार्यकर्ताले अन्तरघात गरेको उहाँले बताउनुभयो । तर महिला सदस्यले इमान्दारी देखाएको उहाँको भनाइ थियो। पार्टीलाई संकट परेका बेला पार्टीलाई बचाउन महिला कार्यकर्ताको योगदान अग्रपंक्तिमा रहेको ओलीले बताउनु भयो। आगामी चुनावमा जित्ने संभावना भएका व्यक्तिहरूले उम्मेदवारीको टिकट पाउने स्पष्ट पार्नुभयो। उहाँले पार्टीका हरेक नेता तथा कार्यकर्ताका गतिविधि सुक्ष्म तरिकाले हेरिराखिएको बताउनुभयो।
चार दिने गृहजिल्ला झापा बसाइका लागि ओली बुधबार झापा आउनुभएको हो। स्थानीय तहको निर्वाचनपछि ओली चार दिनका लागि गृह जिल्ला झापा आउनु भएको हो। झापा बसाइका क्रममा ओलीले पार्टीका कार्यकर्ताहरुसँग सघन भेटघाट शुरु गर्नुभएको छ।





