बिर्तामोडमा रहेका अधिकांस पेट्रोल पम्पहरुमा शौचालय अव्यवस्थित


१० श्रावण २०७९, मंगलवार १९:५८ मा प्रकाशित

झापा । बिर्तामोडमा रहेका अधिकांस पेट्रोल पम्पहरुमा शौचालय अव्यवस्थित रहेको पाइएको छ ।
बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा मंगलबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । नगरपालिकाले बिर्तामोड क्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्ग छेउका १० वटा पेट्रोल पम्पहरुमा अनुगमन गरेको हो । जसमा वडा नम्बर ६मा रहेको नविन ट्रेड कन्सर्न, सुगम आयल ट्रृडर्स, वडा नम्बर ५मा रहेको न्यु दुर्गा अटोमोवाइल्स, बोलबम आयल स्टोर, जय हनुमान ट्रेड कन्सर्न, वडा नम्बर ४को गणेश अटोमोबाइल्स, वडा नम्बर १को हनुमान पेट्रोलियम सप्लायर्स, लक्ष्मी आयल पम्प, वडा नम्बर २ को आश्मा ट्रेडर्स एण्ड सप्लायर्स र गौरव ट्रेड एण्ड सप्लायर्स रहेका छन् ।

यी मध्ये वडा नम्बर २ को आश्मा ट्रेडर्स एण्ड सप्लायर्स र वडा नम्बर १मा रहेको लक्ष्मी आयल पम्पमा रहेका शौचालय राम्रो अवस्थामा रहेको पाइएको छ । आश्मा ट्रेडर्स एण्ड सप्लायर्स सबै मापदण्ड पुरा गरेर सञ्चालनमा रहेको र स्पस्ट देखिनेगरि सार्वजनिक शौचालय लेखेर टाँसेको पाइएको छ । यस्तै लक्ष्मी आयल पम्पले पनि सबै मापदण्ड पुरा गरि शौचालय समेत अपाङ्गमैत्री निर्माण गरेको पाइएको छ । चारपानेमा रहेको लक्ष्मी आयल पम्प भने तत्कालका लागि बन्द अवस्थामा रहेको पाइएको छ । बाँकी रहेका अन्य पम्पहरुमा सार्वजनिक शौचालय लेखेको बोर्ड नटाँसिएको, महिला र पुरुष भनेर नछुट्याएको, पानीको व्यवस्था नभएको, अव्यवस्थित र फोहोर रहेको, सर्वसाधारणले सहजरुपमा प्रयोग गर्ने गरि खुल्ला ठाउँमा नभएको पाइएको छ । पेट्रोलपम्पहरुले अनिवार्यरुपमा राख्नु पर्ने अग्नि नियन्त्रणका सामाग्रीहरु भने राखेका छन् ।

मापदण्ड अनुसार नरहेका पम्पहरुलाई ७ दिन भित्रमा सुधार गर्नका लागि निर्देशन दिएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो । उहाँले अनुगमनकाक्रममा दिएको म्याद भित्र सुधार भए नभएको बारेमा फेरि अनुगमन गर्ने जानकारी दिनु भयो । नगरपालिकाले सर्वसाधारण तथा यात्रुहरुको सहजताका लागि पेट्रोल पम्पहरुमा अनिवार्यरुपमा व्यवस्था गर्नु पर्ने सार्वजनिक शौचालयको निगरानी बढाएको हो ।

अनुगमन टोलीमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर १का वडाध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डे, वडा नम्बर ३का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४का वडाध्यक्ष राहुल शर्मा, वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाई, वडा नम्बर ६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here