काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएर अलपत्र रहेका नेपालीको केही शव नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईको पहलमा स्वदेश ल्याउन थालिएको छ ।
विगत दुई वर्ष अघि कामको सिलसिलामा दुबई पुगेकी सन्तुमाया मगरको शव प्रसाईको पहलमा मंगलबार नेपाल ल्याइएको हो ।
सुर्खेत निवासी सन्तुमायाको दुई महिना अघि दुबईमा मृत्यु भएर शव अलपत्र परेको थियो । शव ल्याउन सरकारसँग जति हार गुहार गर्दा पनि केही सीप नलागेको र आज उद्धार भएको उनका आफन्तले बताएका छन् ।
दुबईमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउनका लागि प्रत्येक शवको ४ लाख खर्च लाग्छ ।
अब बाँकी १५ वटा शव पनि तुरुन्तै नेपाल ल्याउने प्रसाईंले बताउनु भयो। ती बाहेक दुबईको विभिन्न कारागारमा रहेका नेपालीहरुको हकमा पनि जघन्य अपराधमा संलग्न बाहेकलाई नेपाल ल्याउन पहल थालेको उहाँले बताउनु भयो।





