न्यायपरिषदद्वारा १० दिनमा ५ न्यायाधीश बर्खास्त सिफारिस


३ श्रावण २०७९, मंगलवार ०७:१४ मा प्रकाशित

काठमाडौं । न्यायपरिषदले १० दिनमा ५ न्यायाधीशलाई बर्खास्तका लागि सिफारिस गरेको छ।  परिषदले हिजो थप दुई न्यायाधीशलाई बर्खास्तको सिफारिस गरेको हो।

परिषद्को सिफारिसअनुसार अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन  हुनेछ।  पछिल्लो समय  न्यायाधीशमाथि छानबिन  र  कारबाहीलाई तीव्रतासाथ अघि बढाएको परिषद्ले दस दिनयता पाँच न्यायाधीश बर्खास्त गरेको हो। उजुरी र परिषद्को निगरानीमा  छानबिनपछि न्यायाधीश पदमुक्त भएका हुन्।

सोमबार परिषद्ले उच्च अदालत  दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत  काठमाडौंमा कार्यरत अनिलकुमार शर्मालाई बर्खास्त गरेको हो। खराब आचरण, कार्यक्षमता अभावमा  प्राप्त  उजुरी  छानबिनपछि बर्खास्तको निर्णय भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताउनु भयो।

निधिविरुद्ध उच्च अदालत राजविराजमा रहँदा आर्थिक चलखेलमा मुद्दा छिनेको उजुरी थियो भने शर्मामाथि पनि जिल्ला अदालत सिरहामा रहँदा मुद्दा फैसला गर्दा चलखेल गरेको आरोप लागेको थियो।

यसअघि परिषद्ले असार २४ गत उच्च  अदालत  तुलसीपुरका बुटवल  इजलासमा कार्यरत  रेणुका  साहलाई  बर्खास्त  गरेको थियो। उनले शैक्षिक योग्यता ढाँटेर जागिर खाएको न्यायपरिषदको ठहर छ।

गत शुक्रबार पनि दुई न्यायाधीश  कारबाहीमा  परेका थिए। परिषद्ले उच्च अदालत तुलसीपुरमा  कार्यरत  नसरुल्लाह अन्सारी र जिल्ला अदालत बर्दियामा कार्यरत लोकजङ्ग शाहलाई बर्खास्तको सिफारिस  गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here