लमजुङ । लगातारको वर्षासँगै गएको पहिरोका कारण गए रातिदेखि डुम्रे –बेसीसहर सडक खण्ड अवरुद्ध भएको छ ।
सडक खण्डअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।
यो सडक श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिएको छ । माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडकमा थुप्रिएको प्रहरी निरीक्षक रेग्मीले बताउनु भयो। लेदोले सडक अवरुद्ध भएको छ भने वैकल्पिक सडक पनि भासिएको छ।
मस्र्याङ्दी नदीले तलबाट सडक कटान गरेको र माथिबाट बगेर आएको लेदोका कारण करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएका कारण बिहानैदेखि कुनै पनि गाडी आवतजावत हुन सकेको छैन । यो सडक वैकल्पिक सडकको रुपमा प्रयोग हुँदै आएको थियो ।
सडक अवरुद्ध भएपछि बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने र त्यहाँबाट बेसीसहर आउने गाडी सञ्चालन हुनसकेको छैन। यसअघि गएको असार २८ गते पनि यो सडक अवरुद्ध भएको थियो ।
४२ किलोमिटर दूरी रहेको यस सडक खण्डमा बेला बेला पहिरो जाँदा यात्रुलाई समस्या हुँदै आएको छ ।





