काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान एकैछिन बसेको बैठक स्थगित भएको हो । बिहीबारको बैठकमा जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्ज टुङ्गो लगाउने भनिए पनि निर्णय हुन सकेको छैन ।
जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्ज चयनमा नेताहरुबीचमा नै सहमति हुन नसक्दा बैठक स्थगित हुन पुगेको हो । इञ्चार्ज र सह–इञ्चार्ज तोक्नेबारे मापदण्डमा नेताहरुबीच सहमति हुन सकेको छैन ।प्रदेश इञ्चार्ज र सहइञ्चार्ज तोकेजसरी नै जिल्लामा पनि तोक्ने विषयमा प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र इश्वर पोखरेलले दवाव दिइरहनु भएको छ ।तर वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरु पनि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज लाई दोहोरो जिम्मेवारी दिन नहुनेमा अडिग भएपछि पटक पटक बसेको बैठक निर्णय विहीन बन्दै आएको छ ।
जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुंगो लाग्न नसक्दा केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि पछि धकेलिएको छ । बैठकमा इञ्चार्ज र सहइञ्चार्जको बारेमा छलफल भए पनि अन्य विषय छलफलमा प्रवेश गर्न नसकेको नेताहरु बताउँछन् । थप गृहकार्य आवश्यक भएको भन्दै बैठक स्थगित भएको र अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागिनसकेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताउनुभयो ।





