लक्ष्मी उप्रेती,झापा । नेपाली काँग्रेस यतिखेर आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई सक्रिय बनाउन राष्ट्रिय जागरण अभियानमा जुटेको छ ।
अभियानमा जुटेका नेता कार्यकर्ता र पार्टीले सम्बन्धित जिल्लामा प्रतिनिधिका रुपमा तोकेका नेताहरु पार्टी भित्रैको वेमेलले जाताततै हार व्यहोर्नु परेको बताइरहेका छन् ।यसकारण अब नेपाली काँग्रेसलाई बलियो बनाउन पार्टीभित्रै एकताको खाँचो आँैल्याई रहेका छन् ।काँग्रेस कार्यकर्ता भित्रनै आपसी मेलमिलाप नहुँदा हरेक क्षेत्रबाट पार्टीले नोक्शान व्यहोर्नु परेको नेता कार्यकर्ताले बताईरहँदा झापामा भने जिल्ला नेतृत्वमा नै टसल शुरु भएको छ ।
गुटबन्दी भएको भन्दै जिल्ला नेतृत्व आफ्नै नेता कार्यकर्ताबाट आलोचित बनिरहेको छ । पार्टीका नेता कार्यकर्ताहरुले आ—आफ्नो सामाजिक सञ्जालमा गुटबन्दीको विरोध गरिरहेका छन् ।काँग्रेस जिल्ला सभापति उद्धव थापा र सचिव प्रेम सम्वाहाम्फेबीच समितिलाई पूर्णता दिने विषयमा विवाद भए पछि सचिव सम्बाहाम्फेले बैठक नै वहिस्कार गरेको समाचार बाहिर आएको छ ।
समाचार बाहिर आएपछि आफ्नो सामाजिक सञ्जालमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वहरुले गुटकै कारणले झापामा फेरि काँग्रेस सकिने भो भनेर चिन्ता व्यक्त गर्न थालेका छन् ।तर सचिव सम्वाहाम्फेले भने सभापतिले आफ्नो कुनै कुराको सम्बोधन नगरेका कारण बैठकमा बस्नको कुनै औचित्य नहुने भन्दैं बाहिररिएको प्रतिक्रिया दिएका छन् ।‘मैले सभापति ज्युलाई अहिले हतारमा निर्णय नगरौँ भनेर पटक पटक भने’ सचिव सम्वाहाम्फेले भने ‘सवै पदाधिकारीले जिम्मेवारी पाउने सचिवले नपाउने सभापतिको यो निर्णयले वैठक छाडेको हुँ ।’उनले घुमाउरो पारामा सभापतिलाई व्यङ्यात्मक शैलीमा धन्यवाद समेत दिए ।‘जे होस मलाई जिम्मेवार विहिन बनाइएपनि सवैसँग सहकार्य गर्दै अघि बढ्ने अवसर सभापतिले दिनुभयो यसका लागि म उहाँलाई मुरीमुरी धन्यवाद दिन्छु ’ उनले भने ।
नेपाली काँग्रेस झापाले बिवादकावीच विभागीय समितिहरुलाई पूर्णता दिएको भन्दै धेरैले रोष समेत प्रकट गरेका छन् । ‘संगठनको नाममा जिरो, गाउँमा चुनावमा उठे भने व्यक्तिगत १ सय मत कटाउन गाह्रो,चुनावमा हिँडे भने आउने मत पनि नआउने गुटको भरमा जिम्मेवारी जय, जागरण जय गुटबन्दी’ नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समिति सदस्य रुपसागर अधिकारीले आफ्नो सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् ।
उनको यो यो पोस्टमा पार्टीका धेरै कार्यकर्ताले अब जय नेपाल पनि कति दिनसम्म भन्न पाईने हो भन्दै प्रतिक्रियासहित चिन्ता व्यक्त मात्र गरेका छैनन् पार्टीका पूर्व मेचीनगर सचिव अर्जुन सुब्बाले उनको यो पोस्टलाई सहि विश्लेषण भनेका छन् ।झापामा अहिले पार्टीभित्र भइरहेको यसलाई जागरण अभियानको परिणाम भनेका छन् ।गोपाल आत्रयले पार्टीभित्रको गुटबन्दीको घोर विरोध गर्नुपर्छ भने प्रतिक्रिया दिएका छन् ।
सभापतिले मनोनयम गर्न पाउने पार्टीको विधान अनुरुप विभिन्न १४ वटा उपसमिति गठन गर्दै विभागीय समितिहरुलाई पूर्णता दिए पनि वर्तमान पार्टीका जिल्ला सचिव सम्वाहाम्फेलाई जिम्मेवार विहिन बनाएपछि नेपाली काँग्रेस झापा भित्र निक्कै खैलाबैला मच्चिएको हो । विधानले ब्यवस्था गरे बमोजिम उपसमिति र विभागिय समिति गठन गर्ने क्रममा वर्तमान सचिव सम्वाहाम्फे संगठन विभाग प्रमुखमा आफु बस्न चाहान्थे र संगठन विभाग प्रमुखको जिम्मेवारी सभापति उद्धव थापाले आफै राखेपछि सभापति र सचिवबीचको टसल शुरु भएको काँग्रेसका एक क्षेत्रीय नेताले बताए ।
काँग्रेसले जिल्लाका सबै पदाधिकारीहरुलाई जिम्मेवारी दिए पनि निर्वाचित सचिव सम्बाहाम्फेलाई भने कुनै जिम्मेवारी तोकिएको छैन । उनलाई आदिवासी÷जनजाति विभागको संयोजकको जिम्मेवारी तयारी थियो ।उनले त्यो भूमिका स्विकार गरेनन् । ‘प्रेम दाईलाई लखेट्ने समुहले भोली तपाईहरुलाई पनि बाँकी राख्नेवाला छैन् । ख्याल गर्नुहोला भोली यता न उता नहुन होला’ क्षेत्रीय सदस्य अधिकारीले यो पनि लेखेका छन् । अधिकारीको यो पोस्टमा अमर रिजालले आफ्नो धारणा यसरी राखेका छन् । ‘झापामा यस्तै गुटबन्दी रहिरहने हो भने आउँदो चुनाव सम्ममाकाँग्रेसको हालत राप्रपाको भन्दा माथि नहोला जागरण अभियान भनेको छ जता गएपनि हाना हान र गुटबन्दीको कुरा मात्र आएको छ खै कस्तो जागरण अभियान हो । ’ यता १ नम्बर क्षेत्रीय एकजना नेताले सभापतिको राम्रो बचाउ गरे । उनले भने ‘सभापति ज्युले विधानले दिएको अधिकार प्रयोग गरेर सवैलाईसँगै राखेर राम्रो काम गर्नुभएको छ, सचिव ज्युले विधान नपढ्ने अनि यस्तो गरेर हुन्छ ?’ ती नेताले नाम नलेख्ने शर्तमा भने ‘सचिव ज्यु संगठन विभाग प्रमुखको जिम्मेवारी आफुले पाउने दाउमा हुनुहुन्थ्यो तर सभापति थापाले त्यो जिम्मेवारी आफैँले राख्नुभयो, सचिवलाई त्यो जिम्मेवारी दिइएको भए अहिले जसरी मिडियामा समाचार आइरहेको छ त्यो आउँदैन थियो ।’ पार्टीका जिल्ला उपसभापति राम कट्टेललाई नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापाको संयोजकमा मनोनित गरिरहँदा सचिव सम्वाहाम्फेलाई जिम्मेवार विहिन बनाउँदा पार्टीभित्र गुटबन्दी छ भन्ने प्रमाण फेला परेको काँग्रेकै नगरतहका नेताहरु बताउँछन् ।समितिका सदस्यहरुमा पुष्पराज पौडेल, तिलकसिंह पाण्डे, लक्ष्मी खनाल कोइराला,अमृतबहादुर बुढाथोकी, गौरीमान फागो,जगन्नाथ राजवंशी चयन भएका छन् ।
‘नेपाली काँग्रेस जिल्ला समितले पार्टीको विधान बमोजिम विभिन्न विभाग गठन गरी संयोजकको जिम्मेवारी तोकिरहेको छ ताजुव त यो लाग्छ कि सवै पदाधिकारीहरुलाई जिम्मेवारी दिएको छ । निर्वाचित जिल्ला सचिव प्रेम सम्वाहाम्फेलाई छोडेर,झापामा गुटबन्दीको उदारहण हो त्यही नै हो झापामा काँग्रेस पतन हुनुको कारण यसको विरुद्धमा हाम्रो आवाज जहिले पनि बुलन्द रहने छ’ क्षेत्रीय सदस्य अधिकारीले लेखेको स्टाटसले नेपाली काँग्रेसभित्र झापामा पनि गुटउपगुट छ भन्ने प्रष्ट हुन्छ ।
सभापति थापाको सभापतित्वमा पार्टी कार्यालयमा सम्पन्न बैठकले अनुशासन समिति संयोजकमा सचिव तारावीर कटुवाल,आर्थिक विभाग संयोजकमा कोषाध्यक्षमा केशवराज पाण्डे, श्रमिक तथा ट्रेड युनियन विभाग संयोजकमा दिपक तामाङ, शिक्षा विज्ञान तथा प्रविधि विभाग संयोजकमा तेजप्रसाद चौलागाईं, पेशागत तथा बुद्धिजीवी विभाग संयोजकमा हरिकुमार सुवेदीलाई मनोनयन गरेको हो ।त्यसैगरी गैरसरकारी तथा सामाजिक सेवा विभाग संयोजकमा राजेन्द्रप्रसाद भण्डारीलाई मनोनयन गरिएको छ भने हुकुमसिंह राईको संयोजकत्वमा आदिवासी÷जनजाति विभाग गठन गरिएको छ ।
भातृ संघ संस्था समन्वय विभाग संयोजकमा देउकुमार थेवे, सहकारी विभाग संयोजकमा भूपाल बस्नेत र सहसंयोजकमा दुर्गाप्रसाद सापकोटालाई मनोनयन गरिएको छ ।अनुगमन तथा अभिलेख विभाग संयोजकमा दयानन्द गोस्वामी, युवा तथा खेलकुद विभाग संयोजकमा विजय रिजाल चयन भएका छन् ।पार्टी विधान अनुरुप विभागीय समितिका संयोजकहरुको पदावधि आगामी अधिवेशनसम्म हुनेछ । पार्टीको प्रवक्तामा लोकराज ढकाललाई मनोनयन गरिएको छ ।





