मेचीनगर १२ कालिझोडाका २० बर्षिय राजकुमार रक्त क्यान्सरबाट ओछ्यानमा, सहयोगका लागि अपिल


२१ असार २०७९, मंगलवार १९:५४ मा प्रकाशित

झापा । गम्भीर रोग लाग्दा विपन्न परिवारका सदस्यले घरमै ज्यान गुमाउनु पर्ने अवस्था आएका समाचार दिनहुँ पढ्न वा सुन्न पाइन्छ। पैसा हुनेले त उपचारका लागि हर संभव प्रयास गर्छन्।

तर नहुनेका लागि भने भएको सम्पत्ति सिध्याएर सडकमा आउनुपर्ने अवस्था बढ्दै गएको छ। झापा मेचीनगर १२ कालिझोडाका २० बर्षिय राजकुमार विश्वकर्मा अहिले रक्त क्यान्सर भएर ओछ्यान लाग्नु भएको छ। उहाँको उपचारका लागि अब केही पनि सम्पत्ति पनि बाँकी छैन।

जोसंग पैसा छ, साधन स्रोत सम्पन्न छन्, उनीहरूका लागि जस्तोसुकै रोग लागे पनि सुविधा सम्पन्न स्थानमा पुगेर उपचार गराउलान्। तर जस्को केही छैन उस्का लागि घरमै रोएर बस्नुको विकल्प छैन। परिवारका सदस्यका आँखा ओभाउँदैनन्।

यस्तै एउटा उदाहरण हो झापा मेचीनगर १२ कालिझोडाका एक विपन्न परिवार। लालबहादुर विश्वकर्माका छोरा २० बर्षिय राजकुमार अहिले ओछ्यान लाग्नु भएको छ। करिब अढाई बर्ष अघि उहाँलाई रक्त क्यान्सर भएको प्रमाणित भएको थियो। केही दिन परिवारका सदस्यले झापा बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराए। पछि काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गएर उपचार गराए।

लामो समय उपचार गराउँदा राजकुमार विदेश गएर कमाएर ल्याएको पैसा सबै सकियो। केही जग्गा धितो राखेर पैसा निकाले। त्यो पैसा पनि सकियो। केही आराम त भयो, तर अहिले पुनः उहाँको बिराम बल्झियो। अहिले राजकुमार घरमै ओछ्यान लाग्नुभएको छ।

केही दिन अघि परिवारका सदस्यले पुनः पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगेर चेकजाँच गराए। तर केही जाँच गराएको शूल्क तिर्ने उनीहरूसंग पैसा थिएन। बल्लतल्ल केही दिनपछि बिरामीलाई अस्पताल लिएर आउने भनेपछि अस्पतालले बिरामीलाई घर ल्याउन दिएको राजेशका बुवा लालबहादुर बताउनु हुन्छ।

छर छिमेकीको सहयोगले अहिलेसम्म घरमा खानेकुराको जोहो भएको छ। परिवारका सदस्यको एक मात्र आम्दानीको स्रोत मुडा बनाएर बेच्ने हो। त्यो व्यवसाय पनि अहिले धेरै खच्किएको अवस्था छ। जस्ले गर्दा अहिले घरको पिरलो एकातिर छ भने अर्कातिर जवान छोरालाई कसरी बचाउने भन्ने। राजेशकी आमा लीलाको आँखा ओभाएका छैनन्।

राजेश तथा उहाँको परिवारका लागि सरकार छ भन्ने अनुभूति भएको छैन। राजकुमारकी आमा जस्तै परिवारका अन्य सदस्य तथा छर छिमेकीले राजकुमारको उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन्।

सहयोग गर्न चाहनेहरूले राजकुमारकी आमा लीला विश्वकर्माको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खाता नं. ७७०७०१०००७५३० मा सहयोग जम्मा गरिदिन र ९८१५०६७०३९ आग्रह राजकुमारका परिवारका सदस्यले आग्रह गरेका छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here