काठमाडौं । समाजवादी वैकल्पिक क्रान्तिकारी धार निर्माण गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेलगत्तै माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाको सचिवालयका बहुमत सदस्यको बैठक गर्नुभएको छ ।
प्रचण्डको अग्रसरतामा आइतबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच वाम ध्रुवीकरणका विषयमा छलफल भएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता खनालले वाम एकतालगायतका विषयमा प्रारम्भिक छलफल भएको र फेरि चाँडै छलफलमा बस्ने समझदारी भएको जानकारी दिनुभयो ।
प्रचण्डको सचिवालयका अनुसार ‘वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धन’का विषयमा छलफल भएको छ ।
माओवादी, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियान वाम ध्रुवीकरणको पक्षमा छन् ।





