स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानविन लागी समिति गठन


१९ असार २०७९, आईतवार १८:३८ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न समिति बनाएको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहमा भएको अन्तर्घातको उजुरीमाथि छानविन र आवश्यक कारवाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा देवेन्द्र दाहाल र बिष्णु रिमाल रहनुभएको छ । समितिलाई चूनावमा भएका अनुशासनहिनता र अन्र्तघातका बिषयमा छानविन गरि कारवाही गर्ने अधिकार दिइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले निर्वाचनको समिक्षा जिल्ला र प्रदेश कमिटीले असार महिनाभित्रै सकाएर केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । त्यस्तै बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाउने निर्णय गरेको गुरुङले बताउनुभयो । बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निर्णयकको भण्डाफोर गर्ने निर्णय पनि भएको गुरुङले बताउनुभयो ।

बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ भने चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालेको गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here