अर्जुनधारामा मारेर बोरामा फालिएका भारतिय नागरिकको हत्यामा संलग्न व्यक्ति पक्राउ


१९ असार २०७९, आईतवार १८:२० मा प्रकाशित

अर्जुनधारा । एक भारतीय नागरिकको हत्या गरेको अभियोगमा झापा अर्जुनधारा ७ का एक दम्पत्तीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा ४ जुकेखाडी–साहसी टोलको भित्री सडकको ह्युम पाइपभित्र बोरामा हालेर फालेको अवस्थामा असार १२ गते आइतबार एक पुरुषको शव भेटिएको थियो।अनुसन्धानका क्रममा शव भारतीय नागरिकको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या गरेर फालिएका भारतको गुजरात राज्यका नागरिक भएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो। जपडिया नरेशकुमार बाबु भाइ नाम गरेका ती भारतीय नागरिक ४० बर्ष उमेरका रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनको हत्या झापा अर्जुनधारा ७ डाँडागाउँका जानुकादेवी सुवेदी थापा र उनका पति विनय भनिने बृखबहादुर थापाको योजनामा चार मिलेर गरिएको एसपी पोखरेलले बताउनु भयो। हत्यामा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका १० का सुरेश परियार र अर्का एकजना व्यक्ति पनि रहेका एसपी पोखरेलले बताउनु भयो। परियार पक्राउ परिसकेका छन् भने अर्का एकजना अझै फरार छन्।

ती भारतीय नागरिक र जानुकादेवीको केही बर्षदेखि भारतमै चीनजान भएर हिमखिम बढेको प्रहरीले जनाएको छ। उनीहरूबीच सम्पर्क बढ्दै उनी जानुकाका घरसम्म आउने गरेका थिए। २०७६ सालमा जानुकादेवी भारत गएका बेला दिल्लीमा दुई महिना बस्दा मृतकसंग सम्पर्क बढेको थियो।

२०७६ कै फागुन अन्तिम साता जानुकालाई पुर्याउन ती भारतीय नागरिक सीमानाका पानीट्यांकीसम्म आएको प्रहरीको भनाइ छ। उनी भारत फर्किएपछि जानुकाका छोराछोरीका लागि खेलौना तथा लत्ताकपडा पनि पठाइदिएका थिए।

भारतीय नागरिक पटकरपटक बिराटनगर आउने गरेको र एक पटक घर बनाउनका लागि उनले जानुकालाई पाँच लाख रुपैयाँ पनि दिएका थिए। गत बैशाख महिनामा उनी अवैध भारतीय रुपैयाँ ५९ हजारसहित पक्राउ पनि परेका थिए। गत ज्येष्ठ महिनामा जानुकाका पतिका अघि उनले जानुकालाई दव्र्यवहार गरेकाले सोही दिनदेखि उनलाई मार्ने योजना जानुका तथा उनका पतिले बनाएको झापाका प्रहरी प्रमुख पोखरेलले बताउनु भयो।

गत असार ८ गते पनि उनी जानुकाका घर आएका थिए। ९ गते इटहरी गएर बेलुका पुनः जानुकाकै घरमा उनी आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार ती भारतीय नागरिकलाई मार्नका लागि दुई जनालाई पाँच लाख रुपैयाँ सुपारीसमेत कबुल गरिएको थियो। ती दुईमध्ये एक जना सुरेश परियार पनि पक्राउ परिसकेका छन्। गत असार ९ गते राति जानुकाकै घरमा आएर बसेका परियार र अर्का व्यक्तिले ती भारतीय नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ। पहिला उनलाई पछाडिबाट मुक्का हानेर लडाएको र लड्नसाथ फलामको मार्तोलले शरीरका विभिन्न भागमा हानेर परियार तथा अर्का व्यक्तिले मारेको प्रहरीको भनाइ छ।

घटनालाई ढाकछोप गर्न शवलाई बोरामा हालेर ह्युम पाइपभित्र फालिएको आइतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो। हत्यामा प्रयोग गरिएका सामान पनि प्रहरीले बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here