जयराम–हलेसी सडकखण्ड जीर्ण हुँदा धार्मिकस्थल हलेसी आवतजावतमा सकस


१४ असार २०७९, मंगलवार १३:५८ मा प्रकाशित

खोटाङको मुख्य सडकमार्ग जयराम–हलेसी सडकखण्ड जीर्ण हुँदा त्रि–धार्मिकस्थल हलेसी आवतजावतमा सकस भइरहेको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत जयरामदेखि हलेसीसम्मको ओटासिल पिच उक्किँदा सडकमार्ग प्रयोग गरेर हलेसी आउने पर्यटक तथा दर्शनार्थी सबैभन्दा बढी मारमा परेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी लगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो । हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउनेजाने सयौँ सवारी साधनको ओहोर–दोहोर भइरहन्छ ।

जयराम–हलेसी सडक अन्तरगतको च्यास्मीटार, दुर्छिम र हलेसी खण्डमा कालोपत्रे उक्किएर सबैभन्दा बढी ठूलठूला खाल्डाखुल्डी बनेको छ ।सवारी साधन चलाउने चालक छिन–छिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारी साधन चलाउन बाध्य छन् ।
एडिबीको आर्थिक सहयोगमा स्वच्छन्द–भगवती निर्माण सेवाले २०६५ देखि २०६७ साल लगाएर गरेको कालोपत्रे उक्किँदा जयराम–हलेसी ३० किलोमिटर सडकमा खाल्डैखाल्डा बन्दा दुर्घटनाको जोखिम बढेको छ ।

ठेकेदारको लापरबाहीका कारण कालोपत्रे चाँडै उक्किएपछि सवारी साधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको हो ।खाल्डोमा वर्षा याममा पानी जमेर आहाल बन्ने गरेको छ । कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण ८ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडक सरह बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here