सप्तकोशी ब्यारेजका १६ ढोका खोलिए


१४ असार २०७९, मंगलवार १३:४६ मा प्रकाशित

काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ ।

बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएकोे हो ।

नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ । साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ । प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ ।

कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमवारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा छ ।

पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २६ हजार ५ सय ५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here