काँकरभिट्टा । भारतले अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु गरेपछि चारदिनदेखि भारतको पश्चिम बंगाल स्थित पानीट्याँकीमा रोकिएका तेलवाहक नेपाली ट्यांकरहरु मंगलबार विहानदेखि नेपाल प्रवेश गरेका छन् ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ वटा ट्याङ्कर नेपाल प्रवेश गरेको जानकारी दिनुभयो ।यो सँगै केहि समयअघि पूर्वमा देखिएको पेट्रोलियम पदार्थको अभाव हटेको छ ।
कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म भन्सारमा रोकिएका थिए ।यसै कारण चार दिनदेखि झापा,इलाम,पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजेल पम्पहरु बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।मेचीका यी चार जिल्लामा मात्र दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको व्यवसायीहरुको भनाई छ ।
मेनुयल सिस्टमबाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन नेपाल आयल निगम चारआली कार्यालयले भारतीय भन्सारलाई आग्रह गरेको थियो ।समाचार स्रोतका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ वटा ट्याङ्कर पानीट्याङ्की नाकामा रोकिएका थिए ।





