काठमाडौँ । सरकारले आपूर्तिलाई सहज बनाउनका लागि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्नुपरेको जनाएको छ ।
इन्धनमा गरिएको मूल्यवृद्धिका बिषयमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा अपूर्ति सचिव गणेशप्रसाद पाण्डेले अन्तराष्ट्रिय बजारमा अस्वभाविक रुपमा भएको मूल्यबृद्धिले आयल निगम चरम घाटामा गएकाले आपूर्तिलाई सहज बनाउनका लागि मूल्यबृद्धि गर्नुपरेको बताउनुभएको हो ।
उहाँले इन्धनको मूल्य वृद्धि असहज लागेको भन्दै जनताले धैर्यता र साहस देखाएको बताउनुभयो । उहाँले कसैलाई लाभ हुनका लागि मूल्य वृद्धि नगरेको दावी गर्नुभयो । पेट्रोलियम पदार्थको उपभोग कम गर्नका लागि अव आवश्यक नीति निर्माण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्नुको अर्थ जतिमा किन्ने, त्यतिमा नै बेच्ने नभएको तर्क गर्नुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अन्तराष्टिय बजारमा भएको मूल्यबृद्धिकै कारण नेपालमा पनि मूल्यबृद्धि भएको बताउनुभयो । उहाँले पूर्वाधार करमा सरकारले छुट दिन भनेपनि आफुहरुले उक्त रकम नपाएको जिकिर गर्नुभयो । उहाँले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताउनुभयो ।
त्यस्तै उहाले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जिकिर गर्नुभयो ।





