आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्छ : बालकृष्ण खाँण


६ असार २०७९, सोमबार १७:५४ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताउनुभएको छ ।

आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न तथा जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाणले दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी बहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योगाभ्यासको अधिक महत्व रहने विचार व्यक्त गर्नुभयो । उहाँले योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर तथा मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गर्नुभयो ।

त्यस्तै पूर्व डिआइजी ज्ञानेन्द्र बिक्रम महतले प्रहरीहरुको मनोवल र स्वास्थ्य चूस्त राख्न योगको महत्वपूर्ण भूमिका हुने जिकिर गर्नुभयो ।

त्यस्तै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योगाभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी शारीरिक विकारबाट मुक्ति दिलाउन मद्दत गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here