बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईंले बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आफूमाथि दुर्व्यवहार गरेको बताउनु भएको छ ।
सोमबार नगरपालिकाको बैठकमै न्यौपानेले आफूमाथि दुर्व्यवहार गरेको मेयर प्रसाईंले बताउनुभयो । आफू महिला भएकै कारण आफूमाथि दुर्व्यवहार भएको मेयर प्रसाईंले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जसरी ममाथि दुर्व्यवहार भयो त्यो भर्त्सनायोग्य छ। एउटी महिला भएका कारण उहाँहरूले हेप्ने हिसाबले आउनुभएको थियो। पहिलाको कार्यकालमा पनि यस्ता विरोध हुन्थे। तर त्योबेला पहिलाका मेयरसाबलाई त्यस्तो व्यवहार हुन्नथ्यो। अहिलेको उहाँको व्यवहार ठिक छैन।’
बुधबारे हटियाका ब्यापारीलाई बिजुली बाल्न मिटर दिनुपर्ने माग राख्दै नगरपालिका पुगेका बिर्तामोड उद्योग वाणिज्य संघका केही पदाधिकारी र बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईं तथा एमाले अध्यक्ष सुवास भट्टराईबीच सोमबार दिउँसो तनाव भएको थियो।
बिर्तामोड नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्वदलीय बैठकमा न्यौपानेले नगरप्रमुख पबित्रा महतरा प्रसाईंमाथि दुर्ब्यवहार र एमाले नगर अध्यक्ष भट्टराईमाथि हातपातको प्रयास गर्नुभएको थियो ।
कुराकानी गर्ने क्रममा संघका वरिष्ठ उपाध्यक्ष न्यौपाने बसेको ठाउँबाट उठेर भट्टराईमाथि जाइलाग्न खोज्नुभएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बुधबारे हटियामा नियम बिपरित बसेका ब्यापारीलाई मिटर दिने कुरा बृहत छलफल जरुरी भएको भन्दै नगरले छ्लफल प्रारम्भ गरेको थियो ।
मेयर प्रसाईले जग्गादातासमेत राखेर छलफल गर्न आवश्यक छ भनेपछी संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले तुरुन्त जडान हुनुपर्ने माग राखेका थिए ।
हप्तामा एक दिन मात्रै बजार लगाउन दिइएको भन्दै अनारमनीका पूर्व अध्यक्ष हर्कलाल गिरीले ब्यक्तिको नाममा मिटर दिन नमिल्ने बताउनु भएको छ । उहाँले सो निर्णयमा जग्गादाताकोसमेत सल्लाह लिनुपर्ने बताउनु भयो ।





