बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन लागिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकी सैन्य गठबन्धनमा सामेल गर्न खोजिएको बताउनुभयो । पोखरेलले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभयो । उहाले नेपाल अमेरिकी सैन्य गठबन्धनको पक्षमा हुनै नसक्ने जिकिर गर्नुभयो ।
महासचिव पोखरेलले मुलुकको राजनीतिक निकासका लागि गठबन्धन राजनीति ठिक नभएको जिकिर गर्नुभयो । उहाले काँग्रेसले विकास र समृद्धिलाई पन्छाएर सत्ता राजनीति मात्र गरेको आरोप लगाउनुभयो ।
पोखरेलले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारवाहीको सिफारिस स्वायत्त निर्णय भएको बताउनुभयो । उहाले यसबारे केन्द्रीय कमिटीले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।
पोखरेलले विष्णु पौडेलसँग सुमधुर सम्बन्ध रहेको दाबी गर्दे उहाले पौडेललाई कमजोर बनाएर पार्टी बलियो हुन नसक्ने जिकिर गर्नुभयो ।





