आइसिसी विश्वकप क्रिकेट लिग-२ः नेपालद्वारा ओमान ७ विकेटले पराजित


१ असार २०७९, बुधबार ०६:५४ मा प्रकाशित

काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले ओमानलाई सहजै पराजित गरेको छ।

अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो।

ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो।

ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। ओमानले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र १६३ रन बनाउन सक्यो। एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा गर्‍याे।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाए। शेखले ८६ बलमा ६२ रन बनाए। यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो।

यस्तै, देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए। उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए।

दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए। बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो। ओमानका लागि कप्तान जीशन मक्सुदले अर्धशतकीय पारी खेले। उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिए।

यस्तै, सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का तीन चौकासहित ४७ रन बनाए। बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।

जितसँगै नेपाल अंक तालिकाको पाँचाैँ स्थानमा उक्लिएको छ। नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अंक जोडेको छ। नेपालले अर्को खेल आज राति ९ : १५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here