काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ः३० बजे बस्ने बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसअघि हिजोको बैठकमा सांसद प्रकाश रसाइली स्नेहीले ५१ प्रतिशत महिला भएको मुलुकको महिला मन्त्रालयका लागि एक प्रतिशत पनि बजेट नछुट्याइनुले कसरी विकास गर्न सकिन्छ भनी प्रश्न गर्नु भएको थियो।
सांसद अञ्जना बिसङ्खेले कानुन मन्त्रालयको विषय उठाउँदै कानुन कार्यान्वयनको पाटोमा गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले भूमि व्यवस्था मन्त्रालयले भूमि वितरण कसरी गर्नै भन्ने विषयमा कोही पनि गम्भीर नभएको गुनासो गर्नुभयो। सांसद कृष्णभक्त पोखरेलले तीन वर्षभित्रमा भूमिहीन दलित सबैलाई घर दिने भनिए पनि बजेटले स्पष्ट रुपमा सम्बोधन नगरेको बताउनुभयो ।
चितवनलगायत जिल्लाका हजारौँ वर्षदेखि बसेका चेपाङ समुदायको जग्गा दर्ताको कुरासमेत आउन नसकेको उहाँले बताउनुभयो । उहाँले भूउपयोग नीतिको कामसमेत हुन नसकेको हिंसा न्यूनीकरणका लागि सामुदायिक सुरक्षा प्रणाली स्थापना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।





