काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले यातायात व्यवस्था विभागले जनता तर्साउने कार्य गरेको आरोप लगाउनु भएको छ।
संसदमा बोल्दै थापाले बागमती र गण्डकीका सवारी धनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे साउन १ गतेदेखि कारबाही हुन्छ भनेर सूचना जारी गर्दै जनता तर्साउने/धम्क्याउने काम गरिएको बताउनु भयो।
उहाँले यस्तो कार्यको घोर निन्दा गर्दै सभामुखको ध्यानाकर्षण गराउनु भयो। विभागले दिएको समयसीमाभित्र नम्बर प्लेट जडान असम्भव रहेको समेत उहाँले बताउनु भयो।
सवारी साधनमा इम्बोस्ड नम्बर कार्यान्वयनमा ल्याउन गलत कदम उठाइएको छ। इम्बोस्ड जडान नगरे साउन १ देखि कारबाही हुन्छ भनियो। तर, नाम टुङ्गो लगेका प्रदेशमा पहिलेदेखि नै जडान सुरु गर्ने भनिएको थियो, त्यसबेलादेखि जडान गराउन सम्बन्धित यातायात कार्यालयको ध्यानाकर्षण गराउनु पर्ने हो कि अहिले जनता थर्काउने हो?’, थापाले भन्नु भयो।





