भरत प्रसाई । झापाको बिर्तामोडस्थित अन्दुवा खोलाको पुलमुनी नेपाल टेलिकमले बिछ्याइएको नेपाल टेलिकमको तार चोरी हुँदा २१ सय सेवाग्राही सञ्चार सम्पर्कबाट बिच्छेद भएका छन् ।
विगत १ महिना भित्रमा ७ स्थानमा टेलिकमको तार चोरी हुँदा ग्राहक सेवा साथै राजश्वमा ठूलो क्षति पुगेको नेपाल टेलिकम बिर्तामोड एक्सचेन्जका इन्जिनियर काजीमान विश्वकर्माले बताउनु भयो ।
बिहीबार राति भएको चोरीमा करीव १ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको विश्वकर्माले बताउनु भयो ।
संचार सम्पर्क विच्छेद भएका स्थानमा तार फेरि ब्यवस्थापन गर्दा मात्रै करिब १ लाख रुपैयाँ खर्च हुने नेपाल टेलीकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले जानकारी दिनु भयो ।
गएको जेष्ठ १३ गते ९०० क्षमताको केवल चोरी भएको थियो । बिहीबार राति पनि २१०० क्षमताको कपर केवल चोरी भएको होे । बिर्तामोड बजारबाट १ सय मिटरको दुरीमा पटकपटक यस किसिमको चोरी हँुदा पनि प्रहरी प्रशासनले चोरी नियन्त्रणमा लिन सक्रियता नदेखाएको इन्जिनियर विश्वकर्माको गुनासो छ ।
कार्यालय प्रमुख थापाले बिर्तामोडका अतिरिक्त काकँरभिट्टा तथा भद्र्रपुर क्षेत्रमा पोलमा राखिएका सेकेन्डरी केवल चोरीका घटना धेरै रहेको बताउनु भयो । उहाँले सेकेन्डरी केवल चोरी हुनुका साथै प्राइमरी केवलको पनि चोरी पछिल्लो चरणमा बड्दै जाँदा धेरै सेवाग्राहीलाई असर पुगेको साथै राजश्वमा पनि प्रभाव परेको बताउनु भयो ।
नेपाल टेलिकमका अनुसार गरामनी वडा कार्यालयबाट दक्षिण जाने बाटोमा १५० सेवाग्राहीका लागि टेलिफोन लाइन वितरण गरिएको ३०० मिटर केवल, बिर्तामोड– चारपाने ६०० लाइनको भूमिगत केबल ५ मिटर, बिर्तामोड पुर्व–पश्चिम राजमार्ग घाग्रा खोला नजिकै राधा कृष्ण मन्दिर अगाडि १५० मिटर, बिर्तामोड–शनिश्चरे सडक खण्ड अन्तर्गत दास पुल क्षेत्रमा १०० मिटर कपर केवल चोरी भएको नेपाल टेलिकमका शाखा इन्जिनियर काजीमान विश्वकर्माकाले बताउनु भयो ।





