काँकरभिट्टा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले दुईमहिनाको अवधिमा भारी मात्रामा लागूऔषध र त्यसमा संलग्न १९ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोले कार्यालयको कमाण्ड सम्हालेयता उक्त परिमाणको लागूऔषध र व्यक्तिलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चैतमहिनामा १ सय ४८ ग्राम खैरो हिरोइन, २ सय ५० एमएल कोरेक्ससहित ८ जना, बैशाखमहिनामा ४२ ग्राम ८ सय ५० मिलिग्राम खैरो हिरोइन, डाइजिपाम, फेनारगन, लुपिजेसिक १ सय १७ एम्पुलसहित १० जना र जेठमा १ ग्राम खैरो हिरोइनसहित एकजना व्यक्तिलाई पक्राउ गरिएको हो । पक्राउ परेका सवैलाई कानुनी प्रक्रिया पुरा गरी आवश्यक अनुसन्धान थालिएको छ ।
पछिल्लो समय पूर्वीनाका लागू औषधको ट्रान्जिट प्वाईन्ट बन्र्दै गएको र पूर्वमा लागूऔषध प्रयोग र कारोवार गर्नेको सख्या दैनिक बढ्दै गएको गुनासो बढ्न थालेले काँकरभिट्टा प्रहरीले यसमा निक्कै निगरानी बढाएको प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिनुभयो ।
केहीवर्ष अघिसम्म यो नाका भएर गाजा र विभिन्न प्रकारका इञ्जेक्सन मात्र प्रहरीले पक्राउ गर्र्ने गरेको भए पनि पछिल्लो समय ब्राउन सुगर, हिरोइनजस्ता लागू औषधसमेत यसै नाकाबाट भित्रन थालेको र यस्तो धन्दामा युवा शक्तिको प्रयोग हुने गरेको प्रहरीको भनाई छ ।
लागूऔषधको कारोवारमा संलग्नहरुका अनुसार यस नाकाबाट भित्रियाईएका लागूऔषध पूर्वी पहाडी जिल्ला देखि पूर्वकै विर्तामोड, दमक, ईटहरी धरान लगायत झापा जिल्लाकै गाउँ बस्तीमा समेत खपत हुने गरेको छ ।
लागूऔषध एैन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ वर्षसम्म कैद वा दुईलाख रुपैयासम्म जरिवना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैया जरिवाना हुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।





