धरानका मेयर हर्कराज राईले भन्नुभयो, ‘गाडी चड्दिन, मोटरसाइकल नै चड्छु’


१२ जेष्ठ २०७९, बिहीबार ०७:२० मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले महँगो सवारीसाधन प्रयोग नगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

जनताको सेवक भएकाले आफूले उपमहानगरको महँगो गाडी नचढ्ने, आफ्नो पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने उहाँले सार्वजनिक रूपमा घोषणा गर्नु भएको छ। राई एमाले र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट विजयी हुनु भएको हो ।

‘म करोडौँ पर्ने गाडी चढेर हिँडेँ भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैन, त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकि ती भत्केका खाडलहरू पुर्नु छ, बिग्रिएका बाटाहरू मर्मत गर्नु छ,’ बुधबार सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ ।

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्ना निजी नम्बरसमेत सबैलाई दिनु भएको छ ।

‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई कल गर्नुहोला ९८१९०१२३७१ र ९७४६९६५१९८ तपाईंको सेवक, जय धरान,’ उहाँले लेख्नु भएको छ ।

धरान उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले मेयरका लागि को.१ज ६४० नम्बरको सेतो स्कोर्पियो तयारी अवस्थामा राखेको छ । चालक पनि तयारी अवस्थामा छन् । उपमेयरका लागि पनि गाडी तयारी अवस्थामा राखेको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनु भयो ।

‘हामीले उहाँहरूले पाउने सेवासुविधा तयारी अवस्थामा राखेका छौँ । सुविधा लिने वा नलिने भन्ने उहाँहरूको मर्जी हो,’ खतिवडाले भन्नुभयो, ‘मेयर, उपमेयर दुवैजनाले गाडी प्रयोग गर्नुभएको छैन । गाडीबारे हामीले जानकारी गराएका छौँ । मेयरसाप त मंगलबार पदबहाली गरेपछि उपमहानगरपालिका आउनुभएकै छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here