देशभर एकसाथ मतदान सुरु : मतदान केन्द्रमा मतदाताको चहलपहल


३० बैशाख २०७९, शुक्रबार ०७:५४ मा प्रकाशित

काठमाण्डाै । देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या भने ८७ लाख ४१ हजार ५३० छ । पालिका चुनावका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएकोमा ६५ दलले मनोनयन दर्ता गराएका छन् भने १४ दलले एउटा पनि मनोनयन दर्ता गराएका छैनन् ।

प्रदेश-१ मा एक महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका तथा ८८ गाउँपालिका गरी जम्मा १३७ पालिका रहेका छन् । १३७ पालिकामा  एक हजार १५७ वडा रहेका छन् । ३३ लाख ४७ हजार ३८४ मतदाता रहेको प्रदेश नं १ मा एक हजार ८७७ मतदान स्थल रहेका छन् भने ४ हजार ५१ कुल मतदान केन्द्र रहेका छन् । मधेस प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिका गरी कुल एक सय ३६ पालिका रहेका छन् । कुल वडा एक हजार २७१ वडा रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार एक सय ७० मतदाता रहेको मधेस प्रदेशमा २ हजार १६३ मतदान स्थल छन् भने ४ हजार १ सय ८९ कतदान केन्द्र रहेका छन् । वाग्मती प्रदेशमा एक सय १९ पालिका रहेकोमा ३ महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका तथा ७४ गाउँपालिका रहेका छन् । जसमा १ हजार १२१ वडा छन् । कुल मतदाता ३४ लाख १२ हजार ८६९ मतदाता रहेको वाग्मती प्रदेशमा १ हजार ७९२ मतदान केन्द्रमा ४ हजार ९५ मतदान केन्द्र रहेका छन् ।

गण्डकी प्रदेशमा ८५ पालिका रहेकोमा एक महानगरपालिका, २६ नगरपालिका, तथा ५८ गाउँपालिका रहेका छन् । कुल ७५९ वडा रहेको गण्डकी प्रदेशमा मतदाताको सङ्ख्या भने १७ लाख ८९ हजार ४११ रहेको छ । जसमा १ हजार २५३ मतदान स्थल छ भने २ हजार ३ सय मतदान केन्द्र रहेका छन् ।लुम्बिनी प्रदेशमा १०९ पालिका रहेका छन् । जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका तथा ७३ गाउँपालिका रहेका छन् । त्यसमा ९८३ वडाहरु छन् भने कुल मतदाता ३२ लाख १९ हजार ४५७ छन् । १ हजार ६२९ मतदान स्थल रहेको लुम्बिनीमा ३ हजार ८ सय ३२ मतदान केन्द्र रहेका छन् ।

७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा २५ नगरपालिका, ५४ गाउँपालिका रहेका छन् । जसमा ७ सय १८ वडा छन् । कुल मतदाता भने १० लाख १ हजार २८२ जना रहेका छन् । ९०७ मतदान स्थल रहेको कर्णालीमा १ हजार ३८५ मतदान स्थल रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कुल ८८ पालिका रहेका छन् । जसमा एक उपमहानगरपालिका, ३३ नगरपालिका तथा ५४ गाउँपालिका छन् । त्यसमा ७३४ वडा छन् भने कुल मतदाता १६ लाख ३२ हजार १५० जना छन् भने १ हजार १३५ मतदान स्थल छन् भने २ हजार १०३ मतदान केन्द्र रहेका छन् ।

यस पटक कुल १० हजार ७५६ मतदान स्थल रहेका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । चुनावमा खटिने कर्मचारी एक लाख ९ हजार ८८ छन् भने स्वयम्सेवकको सङ्ख्या ६५ हजार ८६५ रहेको छ । यस पटक चुनावमा ५ हजार पर्यवेक्षक खटिएका छन् ।मतदाताले एक–एक मेयर या अध्यक्ष, उपमेयर या उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्ने हुन्छ । त्यसैले हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्ने हुन्छ ।

परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अरु परिचयपत्रका आधारमा मतदान गर्न पाइने तर मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न नपाइने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here