उदयपुर । कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
कटारी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ६८ वर्षीय गंगामाया खत्रीको मृत्यु भएको हो । घाँसको भारी बोकेर साँझ फर्किने क्रममा नजिकैको पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको हो ।
कटारीस्थित विद्युत् प्राधिकरण शाखा कार्यालयका अनुसार पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीलाई करेन्ट लागेको हो ।
शाखाले पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको कटारी प्रहरीले इलाका कार्यालयले जनाएको छ ।





