झापा, फागुन २६ । झापाको बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । पक्राउ पर्नेहरूमा मुख्य नाइके भद्रपुर नगरपालिका– ७ निवासी २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर १ निवासी ३० वर्षीय बिर्ख लिम्बु र भारत किशनगञ्ज जिल्ला बिरखोर घर भई हाल भद्रपुर– ६ मा समिम ग्यारेज सञ्चालन गर्ने १९ वर्षीय मोहम्मद समिम रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट चोरीका सात वटा मोटरसाइकल समेत बरामद गरेको छ । पाँच वटा पल्सर, एउटा अपाची र एउटा सुपर स्प्लेन्डर मोटरसाइकल बरामद गरेको हो । मुख्य नाइके सहनीले फागुन २३ गते दिउँसो सवा ३ बजेको समयमा बिर्तामोडस्थित एभरेस्ट बैंक शाखा कार्यालयको कम्पाउन्डमा पार्किङ गरी राखेको लु ८३ प ३५५४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्यो । सहनीले सो मोटरसाइकल लिएर भद्रपुरतर्फ भागे । प्रहरीले उनलाई खेदाउँदै भद्रपुरबाट पक्राउ गरेको र त्यसपछि अन्य व्यक्तिहरु पक्राउ परेको डिएसपी वसन्त पाठकले बताउनुभयो ।
यता बरामद गरिएका सात वटा मोटरसाइकलमध्येका ६ जना सवारी धनी सम्पर्क आइसकेको छ । मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइसकेको उहाँको भनाई छ ।





