अनारमनी आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन


८ पुष २०७८, बिहीबार १८:४९ मा प्रकाशित

झापा, पुस ८ । झापाको बिर्तामोड नगरपालिका ४ मा रहेको अनारमनी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारको १६ लाख रुपैयाँ र जिल्ला समन्वय समिति झापाको ८ लाख गरी २४ लाख रुपैयाँको लागतमा निर्मित २ कोठे भवनको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उद्घाटन गर्नु भएको हो ।

यो संगै विद्यालयमा आइसीटी कक्ष, खाजा घरकोसमेत उद्घाटन गरिएको छ भने विद्यार्थीलाई टाई र बेल्ड वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक टंक कटुवालका अनुसार कम्प्युटर कक्ष(आइसीटी) पाँच लाख रुपैयाँको लागतमा तयार गरिएको हो । बिर्तामोड नगरपालिकाको सहयोगमा आइसीटी कक्ष तयार भएको बताइएको छ ।

सहारा नेपालसंगको साझेदारीमा चार लाख रुपैयाँको लागतमा खाजा घर तयार गरिएको छ । सहारा नेपालको तर्फबाट दुई लाख रुपैयाँ र बिर्तामोड नगरपालिकाले दुई लाख रुपैयाँ प्रदान गरेसंगै खाजा घर निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक कटुवालले बताउनु भयो ।

कक्षा ७ सम्म विद्यालयमा अध्ययनरत २६९ जना विद्यार्थीलाई टाई बेल्ड समेत बितरण गरिएको छ । विद्यालयमा अध्ययनरत उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, खेल क्षेत्रमा उत्कृष्ठ हुने सबै विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर शिक्षा प्रमुख तिलचन भण्डारी, बिर्तामोड नगरपालिका ४ का वडाअध्यक्ष कुलप्रसाद संग्रौला लगायतले बोल्नु भएको यियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कटुवालले विद्यालय भवनको अभाव हुँदा अझैंपनि चार वटा कक्षालाई संयुक्त रुपमा सञ्चालन गर्नु परेको भन्दै प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत दाहाल र शिक्षा शाखा प्रमुख भण्डारीको ध्यानाकर्षण गराउनु भएको थियो ।

अहिले सो विद्यालयमा कक्षा १ र २ को संयुक्त कक्षा सञ्चालितन छ भने ३ र ४ को समेत कक्षा कोठाको अभावमा संयुक्त कक्षा सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रमको सञ्चालन तुलसा ओझाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here