नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको लागि पुनः मतदान हुने


२८ मंसिर २०७८, मंगलवार ११:५८ मा प्रकाशित

काठमाडौँ, मंसिर २८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको लागि पुनः मतदान हुने भएको छ ।

मङगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।
प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उँहाका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभयो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको थियो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याउनुभएको छ ।
समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुनः मतदानका लागि तयारी भइरहेको र केही बेरमै नँया निर्वाचन तालिका प्रकाशन गर्ने जानकारी दिनुभएको छ । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।
पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here