एमाले महाधिवेशन: पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै, नामावली तयार गर्न सकस


१२ मंसिर २०७८, आईतवार ११:४६ मा प्रकाशित

काठमाण्डौ, मंसिर १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) को दशौँ महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ।

सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्ने जिम्मेवारी पाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नामावली तयार गर्ने काम गरिरहनुभएको नेताहरुको भनाइ छ । तर पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै भएपछि नामावली तयार गर्न सकस परेको छ । बन्दसत्र सुरु हुनुअघि नै ओलीले सर्वसम्मत रुपमा नेतृत्वको प्रस्ताव तयार पार्ने नेताहरूले बताएका छन् ।

हिजो बेलुका बन्द सत्रमा अध्यक्ष ओलीलाई नाम सिफारिसका लागि सबै अधिकार दिने प्रस्ताव भएअनुसार आज बिहानैदेखि सहमतिको प्रयास चलिरहेको छ । तर नामावली तयार गरी घोषणा गर्ने प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालको असहमति छ ।

दुई नेताको असहमति रहे पनि बन्दसत्रले नामावली पास गरेपछि निर्वाचन कमिटीले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ । कुनै पदमा कसैको असहमति रहेमा मनोनयन दर्ता गरेर चुनावमा जाने तयारी छ । एमालेमा अबको ५ वर्षका लागि नेतृत्व छान्न देशभरिबाट २ हजार १ सय ७५ प्रतिनिधि चितवनको सौराहामा जम्मा भएका छन् ।

गएको शुक्रवारदेखि सुरु भएको दशौँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here