काठमाडौं, कार्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप२६)मा भाग लिन आज शुक्रबार बेलायत जानुहुदैछ ।
कात्तिक १२ देखि २६ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन २० सदस्यीय टोली लिएर उँहा बेलायत प्रस्थान गर्न लाग्नुभएको हो ।
कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।
टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहेका छन् ।
प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत नेपाल व्यापार तथा लगानी फोरमले आायोजना गरेको स्वागत कार्यक्रममा भाग लिने कार्यक्रम छ ।
देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा भाग लिनुहुनेछ । नोभेम्बर १ को साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्र र सरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनुहुनेछ ।
देउवा १७ कात्तिकमा नेपाल फर्कने कार्यक्रम छ ।





