काठमाडौं, ११ कात्तिक । स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) मा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता हुने पक्का भएको छ ।
सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार (कात्तिक १२ गते) स्कटल्याण्ड प्रस्थान गर्दै हुनुहुन्छ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १२ गते स्कटल्याण्ड गएर १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
त्यहाँ हुने साइडलाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले स्वीकार गरिसकेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । देउवा र मोदीबीच २०७४ सालयता भेटवार्ता भएको छैन ।





