झापा । बिर्तामोड नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा आइतबार बसेको दोश्रो बैठकले असार १० गते प्रस्तुत आर्थीक वर्ष २०७८/७९को नीति,कार्यक्रम तथा बजेट माथि छलफल गर्दै नगरसभा सम्पन्न भएको हो ।
नगरपालिकाका प्रमुख तथा नगरसभा अध्यक्ष धुर्वकुमार शिवाकोटीले नगरपालिकाको आर्थीक वर्ष २०७८/७९को निति,कार्यक्रम र बजेट,बिर्तामोड नगरपालिका आर्थिक विधेयक २०७८,विनियोजन ऐन२०७७ लाई संसोधन गर्न बनेको विधेयक २०७८ र बिर्तामोड नगरपालिका विनियोजन विधेयक २०७८ संयुक्तरुपमा निर्णयार्थ सभासमक्ष प्रस्तुत गर्नु भएको थियो ।सभामा बोल्ने सम्पुर्ण सदस्यहरुले बजेट राम्रो र जनमुखी भएको धारणा राखेका थिए ।

बिर्तामोड नगरपालिका वडा नम्बर ३का अध्यक्ष भोजराज सिटौलाले आगामी आर्थीक वर्षको नीति,कार्यक्रम तथा बजेट नगरबासीहरुको भाग्यसंग जोडीएको भन्दै यसको कार्यान्वयनमा नगरप्रमुख लगायत सिङ्गो टिम लाग्नु पर्ने बताउनु भयो ।उहाँले जनप्रतिनिधिहरु राजनीतिक स्वार्थ भन्दा माथी उठेर काम गर्दै आएको भन्दै विकास निर्माणका काममा जोड दिनु भयो ।यस्तै वडा नम्बर ४का अध्यक्ष कुलप्रसाद संग्रौलाले बिर्तामोडको ४ र ५ नम्बर वडाका क्षेत्रमा हुने डुवानका समस्या हल गर्नु पर्ने बताउनु भयो ।उहाँले नगर गौरवका आयोजनाहरुलाई ध्यान दिनु पर्ने भन्दै रोकीएका योजनाहरु पुरा गर्नु पर्नेमा जोड दिनु भयो ।यस्तै वडा नम्बर १ का सदस्य प्रेमकुमार खरेलले पनि वडा नम्बर १ र २का अधिकांस स्थान बर्षातको समय डुवानमा पर्दै आएको भन्दै यसलाई व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।
यस्तै वडा नम्बर २का सदस्य उपेन्द्र पराजुलीले बिर्तामोडमा भारतीय मजदुरहरु धेरै रहेको भन्दै उनीहरुलाई करको दायरामा ल्याउनु पर्ने धारणा राख्नु भयो ।यस्तै वडा नम्बर २का सदस्य किशोर पौड्यालले कोभिड –१९को कारण चालु आर्थिक वर्षमा नसकिएका जनता आवासका अधुरा कामहरुलाई निरन्तरता दिन आवश्यक नीति बनाउन आग्रह गर्नु भयो ।

यस्तै वडा नम्बर ५का सदस्य डि.आर कडरीयाले बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनमा आएको विवाद जतिसक्दो चाँडै टुंग्याउनु पर्ने बताउनु भयो ।उहाँले नगरवासिको लागि कोभिड–१९ विरुद्वको खोप अत्यन्त आवश्यक रहेको भन्दै जतिसक्दो चाँडो पहल गर्नपनि आग्रह गर्नु भयो ।यस्तै वडा नम्बर ८का सदस्य दिपक भट्टले प्रदेश सरकारले स्थानिय तहको अधिकार खोसेर बन्चित गरेको भन्दै असन्तुष्टी पोख्नु भयो ।
नगरसभाको दोश्रो बैठकमा उठेका सवालहरुको उपप्रमुख पवित्रादेवी महतरा प्रसाईले जवाफ दिनु भएको थियो ।यस्तै उपप्रमुख प्रसाईले आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेट कार्यान्वयन,कार्यालय व्यवस्थापन,सुसासन पारदर्शीता एवं सेवा प्रबाहलाई प्रभावकारी बनाउन निर्णयको लागि प्रस्ताव पेश गर्नु भएको थियो ।बैठकमा उपप्रमुख प्रसाईले न्याययीक समितिको प्रतिवेदन पनि प्रस्तुत गर्नु भयो ।यस्तै अर्थ तथा सार्वजनिक लेखा समितिकी संयोजक भागिरथा आचार्यले अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सभाका अध्यक्ष शिवाकोटीले नगरसभामा प्रस्तावित विधेयक माथि छलफल गरि निति,कार्यक्रम तथा बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको घोषणा गर्नु भएको थियो । बिर्तामोड नगरपालिकाले आगामि आर्थीक वर्ष २०७८/७९को लागि १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
नगर सभामा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शाखा अधिकृत देवराज कार्की,कार्यक्रमअधिकृत जय तिम्सीना लगायतको उपस्थिति रहेको थियो ।





