सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी


२ असार २०७८, बुधबार ०९:२९ मा प्रकाशित

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ ।

मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन् ।बेपत्ता हुनेहरुको विवरण फरक/फरक आइरहेका छन् ।सिन्धुपालोच्कबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिनु भयो ।

प्रशासनले बेपत्ताहरुको यकिन विवरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ ।उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको तयारी भएको प्रजिअ पोखरेलले बताउनु भयो ।

बाढीले  मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ भने तिम्बु बजार,चनौटे बजार,तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको मन्त्री तामाङले बताउनु भयो ।

उहाँले बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here