अन्तिम समयमा भेरोसेल खोप पाउने उमेर समूह परिवर्तन


२४ जेष्ठ २०७८, सोमबार १८:२७ मा प्रकाशित

काठमाण्डाै । सरकारले मङ्गलवार (भोलि) देखि ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप दिने भने पनि अन्तिम समयमा आएर यो परिवर्तन भएको छ ।

काठमाण्डौ उपत्यकामा भने ६० देखि ६४ वर्षका नागरिकलाई खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार खोपको उपलब्धताका कारण काठमाण्डाै उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिइने छ ।

खोपको अभाव रहेकाले जोखिमलाई मध्यनजर गरेर प्राथमिकताका आधारमा ६० देखि ६२ को साटो ६२ देखि ६४ वर्षका नागरिकलाई खोप दिन लागिएको कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।उहाँका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने भन्दै ६२ देखि ६४ वर्षकालाई खोप दिन लागिएको हो ।

चीनले केही दिनअघि अनुदानमा पठाएको १० लाख डोज खोप भोलिदेखि देशभर लगाइँदैछ ।६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक चार लाखभन्दा धेरै छन् । यसले गर्दा चीनबाट आएको खोपले दोस्रो डोज दिन पनि पुग्छ । खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ ।

यसैबीच कोभिसिल्ड खोपको दोस्रो मात्रामा लगाउन बाँकी रहेकालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्वास्थ्य मन्त्रालय बताए पनि खोप कहाँबाट ल्याउने भन्ने टुङ्गाे लागेको छैन । सरकारले खोप खरिदका लागि अमेरिका, चीन, रुस, डेनमार्क लगायत देशमा पहल गरे पनि खोप खरिदको टुङ्गो नलागेको हो ।

नेपालमा ६५ वर्षमाथिका १४ लाखभन्दा धेरै नागरिक कोभिसिल्डको दोस्रो डोजको पर्खाइमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here