गणतन्त्र प्रणालीको छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र झार्ने खेलमा नलाग्न प्रधानमन्त्री ओलीको सुझाव


१५ जेष्ठ २०७८, शनिबार ११:५६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र प्रणालीको छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा नलाग्न सुझाव दिनु भएको छ ।

गणतन्त्र दिवसका अवसरमा शनिबार मूल समारोह समितिले सैनिक मुख्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पु¥याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न नसक्ने बताउनुभयो राजनीतिक झगडा र लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन उहाले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष रहेको बताउनुभयो ।निर्वाचनले सरकारलाई सुदृढ बनाउनुका साथै जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले चुनाबै हुदैन भनेर भ्रमपूर्ण प्रचार निराधार भएको बताउनुभयो ।

जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो। उहाले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाएको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले गणतन्त्रको यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा विकास गर्ने समुन्नत प्रणालीतर्फ अग्रसर रहेको जिकिर गर्नुभयो ।१४ औं गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नी सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीना लगाएतको सहभागीता रहेको थियो ।

संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइने गरिएको हो । झन्डै २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here