त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपाललाई


११ बैशाख २०७८, शनिबार १६:४९ मा प्रकाशित

काठमाडौं । नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै नेपालले पहिलो घरेलु भूमिमा टी–२० सिरिजको उपाधि उचालेको हो।

नेपालले दिएको दुई सय ३९ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो। उसका लागि ओपनर म्याक्स ओडोउडले २०, कप्तान पिटर सीलारले १३ र सेबस्टियान ब्राटले अविजित २६ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

बलिङमा करण केसीले ३, सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ तथा अविनाश बोहराले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर दुई सय ३८ रन बनाएको यो।

टी–२० अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको सर्वाधिक ठूलो रनको कीर्तिमानी लक्ष्य हो। यसअघि टी–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो। नेपालमा आयोजना भएको १३औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो।

नेपालका लागि ओपनर कुशत भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले।​ भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन बनाए। जारी सिरिजमा उनको यो चौथो अर्धशतक हो।

योसँगै उनले नयाँ कीर्तिमान बनाएका छन्। कुशलले एकै सिरिजमा नेपालको तर्फबाट टी–२० चार अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि कुशलले डेब्यू खेलपछि लगातार तीन टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको विश्व कीर्तिमान बनाएका थिए।

डेब्यू खेलपछि कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका थिए। ७७ रन उनको टी–२० करियरकै उच्च प्रदर्शन हो। यसअघि उनको सर्वाधिक स्कोर ६२ रन थियो।

कुशल मल्लले २४ बलमा ५ छक्का र २ चौकासहित ५० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रनको आक्रामक पारी खेले। मल्लको यो पहिलो टी–२० अर्धशतक हो। यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्कासहित ३३ र आसिफले ८ बलमा २ छक्का र १ चौकाको मद्दतमा १६ रनको योगदान दिए।

बलिङमा फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए। नेपालले सन् २०१९ पहिलो पटक टी–२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here