धादिङमा ट्रक र माइक्रोबस ठोक्किएर दुर्घटना, दुईको मृत्यु


१ फाल्गुन २०७७, शनिबार १४:०४ मा प्रकाशित

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नम्बरको मालवाहक ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here