काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।
यसअघि पुस १३ र माघ ९ काठमाडौँमा नै प्रदर्शन गरिसकेको समूहले आजको प्रदर्शनलाई सहभागिताको हिसावले ‘निर्णायक’ बनाउने तयारी गरेको छ ।
ओलीले माघ २३ गरेको प्रदर्शनलाई ‘काउन्टर’ दिने तयारीस्वरूप आजको जनप्रदर्शनमा २ लाखभन्दा बढी मानिस उतार्ने गरी नेताहरू खटिएका छन् ।
शीर्ष चार नेता पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता आज निस्कने पाँच ठाउँको जुलुसको नेतृत्वमा हुनेछन् ।
केन्द्रीय संघर्ष समितिका अनुसार बिहानबाटै निस्कने जुलुस ११, १२ बजे सुरू हुने मूल जुलुसमा मिसिनेछ ।
मुल जुलुस सुन्धारा–वीरअस्पताल–जमल–घण्टाघर–बागबजार–पुतलीसडक–पद्मोदयमोड–प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछन् ।





