काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढ्ने देखिन्छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको छ ।
विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्ने विषयमा काँग्रेसभित्र दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा मध्यावधि निर्वाचनको पक्षमा देखिँदा पौडेल पक्षले विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनु पर्ने अडानमा देखिएको छ ।





